भर्खरै काठमाडौंको तारेभिर क्षेत्रमा हाइकिङ गरेर आएँ । निकै मज्जा आयो । साथीभाइसँग जमघट गरियो । पहिले–पहिले घरदेखि अफिससम्म हिँडेरै जान्थेँ । किनकि, मलाई सवारीसाधन चढ्न खासै मन लाग्दैनथ्यो ।

सवारी चढेर काममा जान थालेदेखि हिँड्ने बानी कम भएको छ । तर पनि सुटिङका क्रममा गाउँघर पुग्दा मज्जाले हिँड्छु । झोला र पानी बोकेर सुटिङ स्पटदेखि केही टाढासम्म हिँड्छु । कहिलेकाहीँ एक–दुई घन्टा परसम्म पुगेर फर्कन्छु ।

मलाई प्रकृतिसँग रमाउन मन लाग्छ । डाँडाकाँडामा डुल्नुको मज्जा बेग्लै हुन्छ । उकाली–ओराली हिँड्दा बाल्यकालको याद आउँछ । अहिले पनि वर्षमा एकपटक गाउँ जान्छु । त्यसवेला हिँड्न रुचाउँछु । मेरो सिनेमा छायांकन पनि प्रायः गाउँघरमै हुन्छ ।

त्यसैले गाउँघरतिरको डाँडापाखा पुग्दा ‘नोस्टाल्जिया’ हुन्छ । शरीर स्वस्थ राख्नका लागि हिँड्न जरुरी छ । हाइकिङ जाँदा नयाँ ठाउँको रहनसहन र संस्कृतिलाई नियाल्छु । नयाँ भूगोल नियाल्दा फ्रेस पनि भइन्छ । म प्रायः घरमा एक्सरसाइज गर्दिनँ । तर, खेलकुदमा भने रुचि छ । समय मिलेका वेला फुटसल, ब्याडमिन्टन र टिटी खेल्छु । – नया पत्रिका