कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका झापाका निराकर पाण्डेका परिवार र प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डबीच कुराकानी भएको छ।

बिहीबार बिहान सिंहदरबारमा भएको कुराकानीमा प्रधानमन्त्री दाहालले निराकरको शव जति सक्दो नेपाल ल्याइने बताएको निराकरको बुवा अग्नीप्रसाद पाण्डेले सेतोपाटीलाई जानकारी दिए। ‘प्रधानमन्त्री ज्यूले घटनालाई लिएर सरकार हामी गम्भीर छौं भन्नुभयो। र आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट घटनाबारे निष्कर्ष निकाल्छौं भनेर भन्नुभयो,’ पाण्डेले भने।

सरकारले आज बसेको बैठकको निर्णयहरू भोलि सार्वजनिक गर्दैछ। गत पुस १६ गते निराकरको कम्बोडियामा आगलागीका कारण मृत्यु भएको घटना बाहिर आएपछि सरकारले घटनालाई लिएर चासो व्यक्त गरेको थियो। सोही अनुसार प्रधानमन्त्री दाहाल र निराकरका परिवारबीच बिहीबार बिहान कुराकानी भएको हो।

प्रधानमन्त्रीसँगको भेटमा निराकरका बुवासहित परिवारका तीन जना सहभागी थिए भने सरकारका तर्फबाट प्रधानमन्त्री दाहालसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए।

झन्डै आधा घण्टा कुराकानी भएको उल्लेख गर्दै निराकरका बुवा पाण्डेले घटनाबारे सुनेर प्रधानमन्त्री दाहाल भावुक भएको सुनाए।’प्रधानमन्त्री ज्यू असाध्यै भावुक हुनुभयो। उहाँले सकारात्मक कुरा गर्नुभयो र मन्त्रिपरिषद्को बैठकमा आज निर्णय गर्छौं भन्नुभयो। हामी सन्तुष्ट भएर फर्केका छौं।’

अहिले निराकरको शव कम्बोडियाको अस्पतालमै राखिएको छ। तर सामाजिक सञ्जालमा भने शव थाइल्यान्डस्थित नेपाली दूतावासलाई जिम्मा लगाइसकेको भन्ने झूटा कुरा आएको उल्लेख गर्दै परिवारका सदस्यले त्यस्तो दुष्प्रचार नगर्न आग्रह गरेका छन्।

निराकरका दाजु निरज पाण्डेले भने, ‘हामीले मृतकको आधिकारिक कागजपत्र मात्र थाइल्यान्डस्थित नेपाली दूतावासलाई जिम्मा लगाएको हो तर सामाजिक सञ्जालमा भने शव नै दूतावासलाई जिम्मा लगाइसकेको भन्ने हल्ला फैलिरहेको छ। शवलाई अहिले पनि कम्बोडियाकै अस्पतालमा राखिएको छ।’