दाङ, १७ पुस । लुम्बिनी प्रदेशसभाका निर्वाचित सदस्यहरुको आज शपथ लिदैछन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङस्थित प्रदेशसभा भवनमा शपथ ग्रहण हुन लागेको हो । नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन गराउने कार्यक्रम छ ।
प्रदेशसभा नियमावली २०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भइ आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्था अनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण हुन लागेको हो ।
शपथ ग्रहणका लागि प्रदेशसभाका अधिकांश सदस्य देउखुरीमा आइसकेका छन् । शपथ ग्रहण कार्यक्रम आज आइतबार दिउँसो १ बजे तय गरिएको छ । लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।











