कालिकोट, २३ मंसिर । नेपालसँगै आर्थिक उन्नतीमा लागेका मूलकहरु कहाँ पुगिसके । अर्थात विकासमा फड्को मारी सकेका छन् । तर हाम्रो नेपालमा भने अझै जनतालाई खाने नुन पुग्दैन । यतै भएको छ जुम्लाको कालिकोटमा । अहिले यहाँ आयोडिनयुक्त नुनको अभाव भएको छ । आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेडिङ कर्पाेरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएको बताएको छ ।

यहाँ साल्ट ट्रेडिङ कर्पाेरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको बताइएको छ । शाखाले अर्काे सूचना नआएसम्म गाउँका नागरिकलाई आयोडिनयुक्त नुन लिन नआउन आग्रह गरेको छ ।
चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी सेवाले ३ हजार ५ सय क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गर्नुपर्नेमा अहिलेसम्म ३ सय ५५ क्विन्टल मात्र ढुवानी गरेको छ ।