काठमाडौँ, १५ मंसिर । सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाल डिल्लीबजारस्थित कारागार। परिषरमा देखिए । उनीहरु त्यहाँ जानको कारण के थियो भने नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउनु ।

सोमवार अपराह्न दाहालले चौधरीलाई भेटे भने नेपालले पनि उनलाई भेट्न भ्याए । त्यसो त मंगलवार विहानै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समेत रेशम चौधरीलाई भेटे ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपरिणम आउन करिव अन्तिम चरणमा पुग्दा गठबन्धनका शीर्ष नेताहरू चौधरीलाई फकाउन कारागार धाउन थालेका छन् ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले समेत निकट सूत्रमार्फत चौधरीसँग वार्ता प्रक्रिया अघि बढाएको पनि स्रोतको दाबी छ । चौधरीसँगको कुराकानी नेताहरूले खुलासा गर्न नचाहे पनि सरकार बनाउन गठबन्धनलाई केही सिट अपुग हुने भएकाले उनीहरूले उन्मुक्ति पार्टीलाई सहभागी गराउन पहल गरेको स्रोतको भनाइ छ ।

उन्मुक्ति पार्टीले चौधरीको रिहाइ गर्नुपर्ने पहिलो सर्त राख्दै आएको छ । उन्मुक्ति पार्टीले आफू सरकारमा जाने नजाने बारे अझै टुंगो नलागेको बताएको छ । यो पार्टीले प्रतिनिधिसभामा ३ सिट जितेको छ भने प्रदेशसभामा पाँच सिट जितेको छ ।