????????????????????????????????????

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका सबै कम्युनिस्टहरू एक हुने बेला आएको बताएका छन् ।आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिँदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘हामी कम्युनिस्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रूपले योगदान गरेका सबै कम्युनिस्ट समर्थक नागरिकहरू, जनसमुदायहरू, देशभक्त नागरिकहरू ।’

कम्युनिस्टलाई घेराबन्दी गरेर समाप्त पार्न खोजिएको उनको आरोप छ । ‘नेपाललाई पश्चिम बङ्गाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिस्टलाई घिसारेर अन्ततः कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिस्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्रहरू भएका छन् । हामी सचेत हुनुपर्छ,’ उनले अगाडि भने ।

महासचिव विप्लवले सबैले कमजोरी सच्याउनु पर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रम मात्रै रहेको बताएका छन् ।उनले संसारभर पुँजीपति वर्गको रजाइँ चल्दासम्म शान्त नहुने बताउँदै अहिले नेपालमा पनि त्यसै कारण श्रमिक र देशभक्त नागरिकले शान्ति नपाएको दाबी गरे ।

संसदीय व्यवस्थामा नयाँ पार्टी र नयाँ अनुहारको नारा लगाउनु जनतालाई भ्रमित पार्ने काम मात्रै भएको उनको टिप्पणी छ । नयाँ पार्टी र अनुहार नेपाललाई खेल मैदान बनाउने षडयन्त्र मात्रै भएको उनले बताए ।