काठमाडौँ — प्रतिनिधिसभाको निर्वाचनतर्फ झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निरन्तर अग्रस्थानमा छन् । पछिल्लो मतगणनामा उनी २७ हजार ८२६ मत ल्याएर पहिलो स्थानमा रहेका छन् ।

ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारी १५ हजार ९० मतका साथ दोस्रो स्थानमा छन् । अधिकारीलाई ५ हजार ९ सय ५२ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले पछ्याइरहेका छन् । त्यस्तै, जनमत पार्टीका भीम राजवंशीले १ हजार ३ सय १ मत पाएका छन् ।

खगेन्द्र अधिकारी यस क्षेत्रबाट २०७४ सालको चुनावमा पनि ओलीका प्रतिस्पर्धी थिए । ओली ५७ हजार १ सय ३१ मतका साथ विजयी भएका थिए भने पराजित अधिकारीले २८ हजार २ सय ९७ मत पएका थिए ।

१ लाख ५४ हजार दुई सय ८९ जना मतदाता भएको झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ २५ जनाको उम्मेदवारी छ भने दुई महिलासहित १२ जना स्वतन्त्र उम्मेदवार छन् ।