मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा प्रचारप्रसारमात्र नभई कुनै उमेदवारलाई भोटसमेत माग्न पाइँदैन । निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाइसकेको छ ।

विगतको चुनावलाई हेर्दा कतिपय क्षेत्रहरुमा मौन अवधिमा भोटको किनबेच हुने गरेको छ । विगतमा चुनावमा मौन अवधिकै बीच गुपचुप रुपमा मत आफ्नो पक्षमा पार्ने अनेकौँ हत्कण्डाहरु अपनाइएको पाइन्छ । मौन अविधमा यसअघिका अधिकांश चुनावी आंकलन ‘उलटफेर’ भएको विगतको चुनावको अनुभव छ ।मधेसको चुनावमा मौन अवधिलाई ‘नतिजा बदल्ने रात’ पनि भनिन्छ, मौन अविधमा हुने अनेकौँ चलखेल मधेसमा अझ बढी हुने गरेको छ


विगतको चुनावको स्मरण गर्दा मौन अवधिमै विपन्न बस्तीका भोटको किनबेच हुन्थ्यो । मतको खरिदविक्री मौन अवधिमा हुने गरेको इतिहास चुनावको परिणाम आइसकेपछि खुल्थ्यो । चुनाव अघिको आंकलन कति पनि मिल्थेन, मौन अवधिमै भोटको किनबेच भइसक्थ्यो, जसले गर्दा नतिजा उलटपुलट आउँथ्यो ।मौन अवधिमा रातारात मत किनबेच हुँदा चुनावी प्रचारमा जित्छ भनेको उमेदवार नै पछारिन्थे । विगतको चुनावमा भोट किनबेच हुँदा आएको अप्रत्यासित परिणामले सबै चकित हुन्थे । यो खेल चुनावको अघिल्लो रातसम्म हुने गरेको थियो ।

मधेस प्रदेशका जानकारहरु मौन अवधिमा भोटको किनबेच मधेस प्रदेशमा ज्यादा हुने बताउँछन् । उनीहरुले मौन अवधिमा रातारात भोट ट्रान्सफर भएको इतिहास उनीहरुसँग छ । भोटको किनबेच सबैभन्दा बढी मधेसका विपन्न समुदायमा हुँदै आएको जानकारहरुको भनाइ छ ।मधेसको चुनावी अंकगणित मौन अवधिमै फेरबदल हुने गरेको इतिहाँस उनीहरुसँग साक्षी छ । उनीहरुको भनाइअनुसार मधेसमा अझै पनि समुदायका अगुवाले जसलाई भन्यो उसैलाई मत हाल्ने प्रचलन कायमै छ । ‘समाजका अगुवाले त्यहाँको मत अहिले पनि आफूले चाहेको उम्मेदवारका पक्षमा खसालिदिन सक्छन्, त्यसको लागि मौन अवधिमै सबै हुने गरेको विगतको चुनावमा देखिएको छ’ मधेस प्रदेशका एक जानकार राजनीतिकर्मीले भने ।

मधेस प्रदेशमा बेलाबेला हुने कुटपिट र झगडा पनि यही मौन अवधिमा हुने चलखेलका कारण हो । ती राजनीतिकर्मीका अनुसार मधेसमा अझै पनि ४० प्रतिशत मत नखुलेको देखिन्छ, ती मत मौन अवधिमा यताउता हुन्छन्, जसले आर्थिक चलखेल गरेको छ, मत त्यतै ढल्किन्छ ।

मौन अवधिमा मौन मतदातामा पारिने प्रभावबाटै मधेस प्रदेशमा आंकलन गर्न सकिने कतिपय मतदाताहरु बताउँछन् । मौन अविधमा समुदायका अगुवालाई प्रभावित पारेर, आफैं मतदातालाई भेटेर वा अप्रत्यक्ष रूपमा मत आकर्षित गर्ने सूत्र प्रयोग गरेर चुनावी चलखेल हनसक्छ ।

‘विगतको चुनावमा मौन अवधीमा मधेस प्रदेशमा साम, दाम, दण्ड, भेद सबै दाउ अपनाइएको पाइन्छ’ एक राजनीतिज्ञले भने, ‘अहिले पनि त्यो नहोला भन्न सकिदैन ।’

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधिमा चुनाव प्रचार गर्न निषेध गरिएको बताए ।

उनले भने, ‘कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ। सामाजिक सञ्जाल, अनलाइन, छापालगायत माध्यमबाट दल र उम्मेदवारको पक्ष तथा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट वा सेयर गर्न गराउन पाइँदैन’, प्रवक्ता पौडेल भन्छन्, ‘कतै कुनै किसिमको आर्थिक चलखेल गर्न दिइँदैन, त्यस्तो भए कारबाहीको दायरामा ल्याइन्छ ।’ मकालु खाबर