काठमाडौं, २९ कार्तिक । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा मदतान केन्द्रमा निर्वाचन आयोगले क्यामेरा, मोबाइल लगायतका वस्तुहरु लैजान निषेधित गरेको छ ।

आज आयोगले चार बुँदे निर्देशन जारी गर्दै मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने निर्णय गरेको छ । मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न लगाइएको आयोगद्वारा जारी निर्देशनमा उल्लेख छ ।

मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता र अन्य व्यक्तिलाई सलाइ, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा खन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउन आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको छ ।
आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ ।

(क) मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिइ मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने ।

(ख) मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने र सलाइ, लाइटर, क्यामेरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिने ।

(ग) कसैले फोटो खिच्ने क्यामेरा वा मोबाइल आफ्नो स्थानमा साथमा लगी मतसंकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने व्यहोरा सर्वसाधारणलाई सूचित गर्ने ।

(घ) प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानून बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने ।