मकवानपुर — कांग्रेस प्रवक्ता प्रकाशशरण महतले निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्र सहमति भइनसकेको बताएका छन् । मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले आगामी सरकारको विषयमा औपचारिक निर्णय वा कुनै सहमति नभएको प्रस्ट्याएका हुन् ।‘प्रचण्डजीले दाबी गर्नु भएको छैन ।
समर्थक शुभेच्छुकले भन्नु भएको होला । प्रधानमन्त्रीको विषयमा औपचारिकरुपमा कुनै सहमति भएको छैन,’ उनले भने । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै ९१ मा कांग्रेस एक्लैले उम्मेदवारी दिएको कारण पनि कांग्रेसले गठबन्धनको नेतृत्व गरिरहेको प्रस्ट हुने उनको भनाइ थियो ।
‘प्रत्यक्षतर्फको ७४ सिटमा गठबन्धनमा रहेका अन्य चार दलको उम्मेदवारी रहेको छ । यहाँबाटै प्रस्ट हुन्छ नेतृत्वदायी भूमिकामा कांग्रेस रहेको छ भन्ने,’ उनले भने । उनले सहमति नभएपनि कांग्रेसकै नेतृत्वमै आगामी सरकार अगाडि बढ्ने सम्भावना रहेको दोहोर्याए ।
देशमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि जोड्ने नेतृत्व आवश्यकता रहेको औंल्याउँदै त्यसको नेतृत्व वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र गर्न सक्ने उनको दाबी छ । ‘ओलीजीको नेतृत्व जोड्ने नेतृत्व होइन । सहिष्णु पनि छैन,’ उनले भने । अघिल्लो निर्वाचनमा नेकपाले पाँचवर्षे म्यान्डेट प्राप्त गरे पनि त्यसलाई जोगाउन नसकेको महतको भनाइ छ ।
‘पाँचवर्षे म्यान्डेट प्राप्त नेकपा फुटेर अहिले तीन टुक्रा भएको छ । त्यसमध्ये दुईवटा दल अहिले हामीसँग गठबन्धनमा हुनुहुन्छ,’ उनले भने । प्रवक्ता महतले देशमा विकासको गति बढाउन गठबन्धनले जित्न जरुरी रहेको औंल्याए । उनले मिश्रित निर्वाचन प्रणाली भएका कारण कुनै पनि दलको बहुमत नआउने भएका कारण गठबन्धन गर्नुपरेको बताए । ‘चुनावपश्चात् गठबन्धन गर्नुभन्दा अहिले लय मिलेकै समयमा गरौँ भनेर अगाडि बढेका हौँ,’ उनले थपे ।











