इन्द्रेणी संवाददाता
दाङ, २१ कार्तिक । असोज ३० गते तुलसीपुरको एक सामुदायिक वनमा एउटै खाल्डोमा पुरिएको अवस्थामा मृत फेला परेका दुई बालबालिकाको ज्यान जंगली बंदेल मार्नका लागि थापिएको विद्युतीय पासोमा परेर भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँका १४ वर्षीया शरद आचार्य र तुलसीपुर १३ डाँडागाउँबस्ने १५ वर्षिया रोशनी महतारा असोज २७ गते साँझ वेपत्ता भएका थिए । उनीहरु ३० गते मात्रै तुलसीपुर १३ कै जनकल्यान सामुदायक वनको एक खोल्सामा सँगै गाडिएको अवस्थामा फेला परेका थिए ।
सो घटनाको अनुसन्धान गर्दै जाँदा जंगली बंदेललाई जंगलमा थापेको विद्युतीय पासोमा परी उनीहरुको ज्यान गएको प्रहरीले निष्र्कष निकालेको हो । यसरी शरद र रोशनीको ज्यान गरी विद्युतीय पासो थाप्ने चार जनालाई पक्राउ गरी प्रहरीले आइतवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १३ निवासी ३९ वर्षका गणेश भन्ने हरिशचन्द्र पौडेल, सोही ठाउँका २८ वर्षका नुमानन्द कार्की, ३१ वर्षका खिमबहादुर बुढा र ४७ वर्षका प्रकाश भन्ने अम्मरराज कार्की रहेका छन् ।
आइतवार इलाका प्रहरी कार्यालय तुलसीपुरमा उनीहरुलाई सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक विरबहादुर वलीले जंगली बंदेल मार्नका लागि थापेको विद्युतको पासोमा परेर शरद र रोशनीको मृत्यु भएको र असोज २७ गते करिब रातको १० बजेतिर गणेश भन्ने हरिषचन्द्र पौडेलको कुखुराको खोरबाट विद्युत लिएर जंगलमा विद्युतीय पासो थापेको जानकारी दिए । अर्काे दिन २८ गते पौडेल पासो उडाउन जाँदा शरद र रोशनीको पासोमा परेर ज्यान गएको फेला परेको अुसन्धनाबाट खुलेको प्रहरीको भनाइ छ ।
उनीहरुबाट पासो थाप्न प्रयोग गरिएका ७६ मिटर १ इन्च विद्युत वाइरिङ तार, वेण्डिङ तार, पासोमा प्रयोग गरिएका बाँसका किला शव गाडन प्रयोग गरिएको फरुवालगायतका समाग्री बरामद गरेका छ । मृतकले प्रयोग गर्दै आएका मोवाइल, चप्पललगायतका घटनामा फेला परेका समाग्री पनि प्रहरीले सार्वजनिक गरेको छ । विद्युतीय पासो थाप्नेहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
घटनाबारे प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन
