आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा दाङले धेरैको चासो खिच्ने देखिन्छ। दाङका तीनै क्षेत्रमा चर्चित उम्मेदवारहरू चुनावी मैदानमा छन्।त्यसमध्ये दाङ -२ मा एमालेका शक्तिशाली महासचिव शंकर पोखरेल र सत्ता गठबन्धनबाट  नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्माबीच प्रतिस्पर्धा हुँदैछ।

तुलसीपुरमै घर भएका पोखरेल यसअघिको चुनावमा वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरालाई प्रतिनिधिसभा छोडेर मुख्यमन्त्री हुन प्रदेश झरेका थिए।उनी एमालेका वैचारिक नेता हुन्। नीति र सिद्धान्तका कुरा गर्ने उनलाई मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको प्रखर व्याख्याता मानिन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीका विश्वास पात्र र अध्यक्ष केपी ओलीका उत्तराधिकारीको रूपमासमेत एमालेजनले पोखरेललाई हेर्ने गरेका छन्।अर्कोतिर माओवादीकी नेता शर्मा पार्टीभित्र उदयीमान, प्रतिभाशाली नेता हुन्।

संघीय सरकारमा मन्त्री भइसकेकी उनले माओवादी केन्द्रकै शक्तिशाली नेता महरालाई विस्थापित गरेर टिकट पाएकी हुन्। पार्टीमा उदयीमान शर्मा र शक्तिशाली पोखरेल बीचको प्रतिस्पर्धालाई दंगालीहरूले रोचक मानेर हेरेका छन्।यसपालि कांग्रेसका मतदाता गठबन्धनमा इमानदार देखिएकाले शर्माको जित निश्चित हुने माओवादी केन्द्रका नेताहरूको विश्वास छ। पोखरेल र शर्मा जसले जिते पनि उनीहरुका लागि संसदको यात्रामा दोस्रो पटक जनअनुमोदन हुनेछ। र जित्नेले यो निर्वाचन क्षेत्रमा भविष्यका लागिसमेत बलियो पाइला टेक्नेछ।