नेपालको हिमाली क्षेत्रहरुमा छायांकन भएको बलिउडको मल्टीस्टारर फिल्म ‘उचाइँ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार निर्माण कम्पनी राजश्रीको यूट्युब च्यानलबाट सार्वजनिक भएको २ मिनेट ५१ सेकेन्ड लम्बाईको ट्रेलरले मित्रताको कथा बोल्छ । अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमन इरानीको मित्रताको वरिपरि फिल्म घुमेको ट्रेलरबाट प्रस्ट्याइएको छ ।

सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले पेस गर्छ ।सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ ।

फिल्ममा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गरेकी छन् । नेपालमा पदयात्राको मौसम पनि सुरु भएकाले यो फिल्म अझै महत्वपूर्ण हुनसक्छ ।खासमा भारतको मुम्बईदेखि नेपालको सगरमाथासम्मको यात्राको कथा हो यो फिल्म । ट्रेलर हेर्दा लाग्छ, उमेर संख्या मात्र हो । उमेर बढेपछि खुलेर जीवन बाँच्नुपर्छ र आशावादी बन्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।

बलिउडका भेट्रान निर्देशक सूरज बडजात्याद्वारा निर्देशित यस फिल्ममा नेपाली कलाकारहरु परमिता राज्यलक्ष्मी राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ ।