इन्द्रेणी संवाददाता

काठमाडौं, २५ असोज । पूर्व सभामुख कृष्णबहादुर महराले अब आफू पार्टीको काम र समाजसेवामा लाग्ने बताएका छन् । उनले अघिल्लो पटक आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ मा यसपटक माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेखा शर्मा लगायत गठवन्धनका उम्मेदवारलाई जिताउन आह्वानसमेत गरेका छन् । महराले आइतबार एक विज्ञप्ति प्रकाशित गरी आफू अब समाजसेवा र पार्टीको काममा सक्रिय भएर लाग्ने बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘दाङ, रोल्पा लगायत समग्र देशको समृद्धि विकासका लागि मैले राजकीय भूमिकामा रहँदा वा बाहिर रहँदा पनि सदैव नजिक रहेक काम गरेको छु, संसदीय भूमिका नरहँदा पनि त्यसमा कुनै कमी हुन दिने छैन । समाजसेवा र पार्टीको काममा मेरो सक्रियता झनै बढ्ने छ । संसदीय राजनीति र चुनावी मोर्चाको भूमिकामा युवा तथा नयाँ ऊर्जाशील कमरेडहरु अगाडि आउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

महराले भनेका छन्, ‘साथै २०७४ सालमा म निर्वाचित भएको प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं. २ मा स्थायी समिति सदस्य रेखा शर्मासहित देशभर प्रतिनिधि सभा र प्रदेश सभामा अग्रगामी गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई विजजयी गराउनु हुन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछु ।’