इन्द्रेणी संवाददाता
काठमाडौं, १० असोज । यसवर्षको दशैँ आजदेखि शुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ। आजकै दिनमा दशैका लागि जमरा राख्ने चलन छ ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।











