काठमाडौं, ४ असोज । निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् ।

निर्वाचन आयोगले अघि बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ । आइतवार र सोमवार दलहरुलाई आयोगले बन्दसूची पेस गर्न समय दिएको थियो । पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका थिए । अरु ४४ दलले हिजो दोश्रो दिन बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका थिए ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए ।

प्रदेशतर्फ प्रदेश नम्बर एक र मधेस प्रदेशमा समान ३६ दल, वाग्मती प्रदेशमा ४१ दल, गण्डकी प्रदेशमा ३१ दल, लुम्बिनी प्रदेशमा ३२ दल, कर्णाली प्रदेशमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ ।