काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठकमा संसदमा दर्ता भएको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्तावको प्रतिवाद गर्नेबारे महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
महासचिव शंकर पोखरेलका अनुसार हिजो बेलुकी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकपछि संसदीय दलको बैठकले यसबारे महत्त्वपूर्ण निर्णय गर्ने छ ।

हिजो बसेको सचिवालय बैठकले महाभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । तर प्रतिवाद कसरी गर्ने भन्नेबारे एमालेले केही बताएको छैन । आजको संसदीय दलको बैठकले प्रतिनिधि सभा विघटनको विपक्षमा फैसला गर्ने सर्वोच्चका थप चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावबारे निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।