काठमाण्डौ, ३ साउन
प्रेस काउन्सिल नेपालले नयाँ ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गर्ने तयारी गरेको छ ।स्वस्थ पत्रकारिताको विकाससँगै, सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार, व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको संवर्द्धन गर्न आचारसंहिता जारी गर्न लागेको हो । press_freedom_fists

पछिल्लो समयमा नेपाली सञ्चारमाध्यमको विकास भएसँगै हाल कार्यान्वयनमा रहेको आचारसंहिता ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधित तथा परिमार्जित–२०६४) ले सबै सञ्चारमाध्यम र पत्रकारलाई समेट्न नसकेकाले नयाँ आचारसंहिता ल्याउन लागिएको हो ।

“विसं २०६० को आचारसंहिता छापा माध्यमसँग मात्र केन्द्रित भएको देखिन्छ, तर अहिले रेडियो, टेलिभिजन र नयाँ सञ्चारमाध्यमका रूपमा आएको अनलाइनलाई समेट्ने गरी आचारसंहिता ल्याउने तयारी गरिएको छ” – काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले भने ।

पहिले पत्रकार र सञ्चारमाध्यमको सङ्ख्या न्यून भएको र अहिले सङ्ख्यामा वृद्धि भएसँगै आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको हुँदा नयाँ आचारसंहिता आवश्यक परेकाले साउन तेस्रो साताभित्रमा नयाँ आचारसंहिता कार्यान्वयनमा ल्याउन लागिएको अध्यक्ष कार्कीको भनाइ छ ।

नयाँ आचारसंहिता तयार गर्नका लागि काउन्सिलको तर्फबाट अध्यक्ष कार्कीसहित तीन, नेपाल पत्रकार महासङ्घको तर्फबाट अध्यक्ष डा. महेन्द्र विष्टसहित पाँच र एक मधेसी समुदायको पत्रकारसहित नौ जनाकोे कार्यदल बनेको छ । कार्यदलले आचारसंहितालाई पूर्णता दिन सञ्चारविज्ञ, सञ्चारमाध्यम र सञ्चारसँग सम्बन्धित सङ्घसंस्था र सङ्गठनका प्रतिनिधिसँग निरन्तर छलफल गर्दै आएको छ ।।