तनहुँ, २० मंसिर। तनहुँमा गोली लागेर एक युवकको ज्यान गएको छ । शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वन सिकार खेल्न गएका युवाको गोली लागेर ज्यान गएको जिल्ला प्रहरी तनहुँले जनाएको छ ।
जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्का अनुसार आइतबार राति सिकार खेल्न गएकाबेला गोली लागेर शुक्लागण्डकी नगरपालिका १ का १७ वर्षीय रोहित मल्लको मृत्यु भएको हो ।
गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ ।
प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











