काठमाडौं, १५ मंसिर । उच्च संक्रामक मानिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित मंगलबारसम्म १९ देशमा भेटिएका छन् ।

प्रतिरक्षालाई कमजोर बनाउने स्पाइक प्रोटिनमा तीव्र रूपमा आएको उत्परिवर्तनले हालसम्मको भेरियन्टको तुलनामा बढी संक्रामक हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । तर, हालसम्म संक्रमितमा गम्भीर लक्षण भने देखिएको छैन ।

दक्षिण अफ्रिका, युरोप, अमेरिकाका देश बढी प्रभावित भएका छन् । जसमध्ये सबैभन्दा बढी दक्षिण अफ्रिकामा ७७ जनामा ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका छन् । बोत्सवनामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४ र पोर्चुगलमा १३ जनामा नयाँ भेरियन्ट पुष्टि भएको छ । अस्ट्रेलियामा ६, जर्मनी र इटालीमा चार–चार, क्यानडा र हङकङमा तीन–तीन, डेनमार्क र इजरायलमा दुई–दुईजनामा संक्रमण पुष्टि भएको छ । स्विडेन, स्पेन, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम र अस्ट्रियामा समेत एक–एकजनामा संक्रमण देखिएको छ ।

दक्षिण अफ्रिकाको बोत्सवानामा पहिलोपटक भेटिएको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएपछि विभिन्न देशले सो देशमा आवतजावतमा रोक लगाउन थालेका छन् । संक्रमण नियन्त्रणका लागि आवतजावतमा रोक लगाइए पनि दक्षिण अफ्रिकालाई संक्रमण नियन्त्रणका लागि चुनौती बन्दै गएको विज्ञहरूले बताएका छन् ।

ओमिक्रोन भेरियन्टमा ५० भन्दा बढी म्युटेसन पाइएका छन् । जसमध्ये ३० वटा स्पाइक प्रोटिनमा म्युटेसन भएकाले तीव्र संक्रामक रहेको डब्लुएचओले जनाएको छ । ओमिक्रोनबारे अनुसन्धान गरिरहेको दक्षिण अफ्रिकाको ‘क्वाजालु नताल विश्वविद्यालय’का वैज्ञानिकहरूको प्यानलले पहिले संक्रमण भएका नै बढी प्रभावित भएको जनाएको छ । यीमध्ये केही उत्परिवर्तन पहिले पनि देखिएका थिए । नयाँ पत्रिकाबाट