घोराही, १४ मंसिर । शहीद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । घोराहीमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले मुलुक विकासका लागि प्राविधिक शिक्षा आवश्यक भएको बताएका छन् । सरकारले प्राविधिक शिक्षालाई सर्वसुलभ बनाउनुपर्ने धारणा राख्दै उनले भने ‘हामीले गाउँगाउँमा जीवनउपयोगी हुने शिक्षा दिनुपर्छ, नेपाली माटो सुहाउँदो प्राविधिक शिक्षाले मात्रै हाम्रा विद्यार्थीहरुको आफ्नो भविष्य सुन्दर बनाउन सक्छन् ।’

कार्यक्रममा प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्माले पछिल्लो समय दाङ प्राविधिक शिक्षाको हब हुन थालेको बताएका थिए ।

कार्यक्रमका सभाअध्यक्ष एवम् शिक्षालयका उपप्रमुख केशरमान बुढाथोकीले शहीद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय यो प्रदेशमा सबैभन्दा बढी प्राविधिक विषयहरु अध्यापन गर्ने शिक्षालयको रुपमा स्थापित भएको बताए ।

विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासबाट सीपमुलक शिक्षा प्रदान गरिएको उपप्रमुख बुढाथोकीले जानकारी दिए । ‘हामीले आगामी दिनमा थप छोटो तथा लामो समयका सीपमुलक तालिम प्रदान गर्ने योजना बनाएका छौं,’ बुढाथोकीले भने, ‘यो शिक्षालयको विकासका लागि सहयोग गर्नु यस क्षेत्रका आम दाजुभाई तथा दिदीबहिनिहरुको पूर्ण दायित्व हो ।’

शिक्षालयका प्रशिक्षक चन्द्रप्रकाश कँडेलले शिक्षालयको विकासका लागि सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरु हिरा थापा र विरेन्द्र डाँगीले गरेका थिए ।