इन्द्रेणी संवाददाता
चितवन, १२ मंसिर । चितवनमा जारी नेकपा एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्वको सूची बनाउने जिम्मा पाएका चार जना नेताले ३०१ जनको नामसहित सूची तयार पारी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् ।

सर्वसम्मत नयाँ नेतृत्वको नामावली प्रस्ताव गर्न सर्वाधिकार पाएका अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको नाम छान्न विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङलाई जिम्मा दिएका थिए ।

जिम्मा पाएका नेताले बनाएको सूची अध्यक्ष ओलीले महाधिवेशनको अब चल्ने बन्दसत्रमा प्रस्ताव गर्ने छन् । बन्दसत्र विहान १० बजेदेखि शुरु हुने भनिएपनि ओली सर्वसम्मत नेतृत्वका लागि बन्दसत्र स्थगित गरेर नेताहरुसँगको छलफलमा जुटेका थिए । अहिले बन्दसत्र सञ्चालनका लागि तयारी गरिएको छ । वेलुका ७ बजेदेखि बन्दसत्रका लागि माइकिंग पनि गरिएको छ ।

ओलीले आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत बनाउने प्रयास गरेपनि उपाध्यक्ष भिम रावलले अध्यक्षमा दावी गर्दै आएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिवमा पनि आकांक्षी धेरै छन् ।