सल्यान, ८ असोज । स्थानीय तहको कानून निर्माण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र सहभागितामूलक बनाउनुपर्ने विषयमा सल्यानको कपुरकोटमा छलफल भएको छ । छललफलमा सहभागी नागरिकहरुले कानून निर्माण प्रक्रियामा आफुहरुललाई सहभागी नबनाइएको भन्दै गुनासो गरेका छन् ।
सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत शुक्रबार कपुरकोट गाउँपालिकामा आयोजित स्थानीय सरकार र नागरिक समाजविच स्थानीय तहको नीति निर्माण प्रक्रिया सम्बन्धी छलफल कार्यक्रममा सहभागिहरुले गाउँपालिकाले ऐन, नियमावली वा निर्देशिका बनाउदा नागरिकहरुसंग सुझाव संकलन गर्नुपर्नेमा जोड दिएका हुन् ।
सामुदायीक समुहको तर्फबाट बोल्दै सुरेन्द्र वलीले नीति निर्माण र विकास निर्माण कार्यमा स्थानीय जनताहरूलाई सहभागी बनाउन जनप्रतिनिधी तथा कर्मचारीहरुलाई आग्रह गरे ।
कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले नीति निर्माण प्रक्रियामा नागरिकहरुको उल्लेख्यीय सहभागिता हुन नसक्नुमा आफुहरुको पनि केही कमजोरी रहेको स्वीकार्दै आगामी दिनमा यसलाइ सुधार गर्दै जाने बताइन् ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष हरिराल पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर शाही लगाएतले मन्तव्य राखेका थिए ।











