रुपन्देही, १ भदौ । लुम्बिनी प्रदेश सभाको नवौँ अधिवेशन आज मंगलबारदेखि शुरु हुँदैछ ।

lumbini pradeshअधिवेशन दिउँसो १ बजेदेखि सुरु हुने प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिएका छन् । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको अधिवेशनमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची छ ।

साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । आज उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीले प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सभामा पेश गर्नेछन्।

यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दावा कुमारी शर्माले प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसुची रहेको छ ।