इन्द्रेणी संवाददाता
काठमाडौं, १ भदौ । शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनका लागि अध्यादेश ल्याउने तयारी गरेको छ । सोमवार रातिदेखि संसदको चालु अधिवेशन अन्त्य गर्दै सरकारले अध्यादेश ल्याउने तयारी थालेको हो ।
सरकारले सकेसम्म आजै नत्र भोली बुधवारसम्म अध्यादेश ल्याउने तयारी गरेको सत्तारूढ गठबन्धनका एक शीर्ष नेताले बताए । दल विभाजन सम्बन्धी अध्यादेश जारी भए नेकपा एमाले र जसपा महन्त ठाकुर पक्षलाई पार्टी फुटाउन सहज हुने देखिन्छ ।
सरकारले ल्याउन लागेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय समिति २५ प्रतिशत सदस्यले अर्को दल गठन गर्न सक्ने प्रावधान राखिने छ। अहिले दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत बहुमत चाहिन्छ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउन गाह्रो हुने भएपछि २५ प्रतिशतले दल विभाजन गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याउन लागिएको स्रोतले बताएको छ ।











