घोराही, २२ साउन । फ्री मिडिया नेटवर्कको पैरवी रणनीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन) को आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पत्रकारहरुको सुरक्षा, प्रेस स्वतन्त्रता, सञ्चारमाध्यममा आएका विषयवस्तु, आचारसंहिता कार्यान्वयन, सञ्चारमाध्यमको उत्तरदायित्व लगायतका विषयमा छलफल गरिएको थियो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष एवं फ्रि मिडिया नेटवर्कका संंयोजक दुर्गालाल केसीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जि.एमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दाङको पत्रकारिता र सञ्चारमाध्यमहरुको अवश्थाको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा जिल्लामा सञ्चार क्षेत्रसँग जोडीएका प्रमुख चुनौती तथा पैरवीका लागि प्रमुख मुद्धाका विषयमा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र कोभिडले सञ्चार क्षेत्रमा पारेको असर सम्बन्धी प्रतिवेदन उपाध्यक्ष सन्तोष सुवेदीले प्रस्तुत गरेका थिए ।
यस्तै मानव अधिकारसञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम अधिकृत निराजन नेपालीले सञ्चारमाध्यमका विषयमा पहिचान भएका मुद्धाको पैरवीका लागि कार्ययोजना निर्माणका विषयमा प्रस्तुती राखेका थिए ।
कार्यक्रममा सहभागीहरुले पत्रकारितालाई जवाफदेही बनाउनुपर्ने, मिडियालाई आचारसंहिताबारे सचेत बनाउनुपर्ने, अनलाईन मिडियालाई व्यवस्थित र जिम्मेवार गराउनुपर्ने, प्रेस स्वतन्त्रताको लागि सबैले पहल गर्नुपर्ने बताएका थिए । त्यस अवसरमा सञ्चार क्षेत्रमा उठ्ने विभिन्न विषयहरुमाथि छलफल गरी समाधान गर्न गठित फ्रि मिडिया नेटवर्कले विस्तृत कार्ययोजना तयार पारी अगाडि बढ्ने निर्णय गरिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य रेवतिरमण शर्मा, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन लगायतले मन्तव्य आफ्ना विचार राखेका थिए । उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आर.के.शीतलले गरेका थिए ।











