काठमाडौं, १९ साउन । सरकारले कोभिडविरुद्धको खोप खरिद प्रक्रियालाई तीव्र बनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डेढ करोड डोज खोप खरिद प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक सय दिनको कार्ययोजना सार्वजनिक गर्दै उनले असोज अन्तिमसम्म थप दुई करोड डोज खोप आपूर्ति हुने बताए ।

khop-nepalवयस्क तथा किशोर–किशोरीसमेतलाई लक्षित गरी मोडेर्ना खोप ४० लाख र जोन्सन एन्ड जोन्सन खोप ५० लाख, फाइजर ४० लाख र एस्ट्राजेनिका २० लाख गरी कुल एक करोड ५० लाख मात्रा खरिद प्रक्रिया सुरु भइसकेको मन्त्री श्रेष्ठले जानकारी दिए । फाइजरको थप ६० लाख किन्ने विषय भने खरिद प्रक्रियाकै चरणमा भएको उनले बताए ।

मन्त्री श्रेष्ठका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत एक करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा एक करोड ५० लाख खरिद गर्ने तयारी भएको छ । जसमध्ये ४० लाखको भुक्तानी भइसकेको र एक करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले बताए । बालबालिका लक्षित गरी फाइजरको ६० लाख खोप गरी तीन करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको उनको भनाइ छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठका अनुसार नेपाललाई जम्मा पाँच करोड २३ लाख खोप प्राप्त हुने अवस्था छ । उनले एकतिहाइ नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताए । नयाँ पत्रिकाबाट