
इन्द्रेणी संवाददाता
काठमाडौं, २० असार । यस वर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको छ ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढी तथा पहिरोका कारण गएको जेठ ३१ देखि आजसम्म ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै वेपत्ता छन् ।
बाढी पहिरोमा परी ४७ जना घाइते भएका छन् । शनिबार मात्रै गोर्खा २ र धादिङमा २ गरेर ४ जनाले पहिरोका कारणले ज्यान गुमाएको
केन्द्रका प्रमुख दिल तामाङले जानकारी दिएका छन् ।
अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु रिपोर्टिङ्ग भएको उनले बताए । ४ सय ९५ घरहरु पूर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएका छन् । सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ ।
त्यस्तै २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ ।
जोखिम कम भएपनि टरेको छैन
लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम भएको छ तर टरेको भने छैन।
देशका केही ठाउँमा राति पानी पर्न कम भए पनि गण्डकी प्रदेशका पोखरा, लमजुङसहित वाग्मती प्रदेशको चितवन र तराईका जिल्लामा ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन् ।
आज भने हिजोअस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा ठूलो वर्षाको सम्भावना भने रहेकाले सतर्कता भने अपनाउनु पर्दछ । आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ ।










