तुलसीपुर, ३१ जेठ । तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले निर्वाचनमा प्रतिवद्धता गरेका अधिकांस बाचा पुरा गरेको बताएका छन् ।
आज उपमहानगरको नवौ नगरसभा तथा बार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले चुनावको समयमा जनताको माझमा प्रतिवद्धता गरेका अधिकांस बाचा पुरा गरेको बताउँदै बाँकी प्रतिवद्धताहरु एक बर्षको अवधिमा पुरा गर्नेगरी अघि बढ्ने बताए ।
मेट्रो कलेज स्थापना, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, एक वडा एक नगर स्वास्थ्य केन्द्र, खरको छानोमुक्त अभियान, टरिगाउँ एयरर्पोट संचालन, सुत्केरी भत्ता, तुलसीपुर बसपार्क व्यवस्थापन, उज्यालो तुलसीपुर, मेट्रो अस्पताल लगताएत भौतिक पुर्वाधार विकासमा देखिनेगरी फड्को मारेको बताए ।
चारबर्षे कार्यकाल पुरा गरेर अन्तिम चरणमा आएकाले यस अवधिमा हामीले गरेका कामको समिक्षा र आगामी जनमुखी योजनाको विषयमा संगसंगै हातेमालो गरेर अघि बढ्ने बेला आएको बताए ।
त्यसैगरी नगरसभामा विद्यायन समितिका संयोजक अमर नेपाली (माइकल), सुशासन समितिका संयोजक सुर्य बहादुर डाँगी (श्याम) वातावरण तथा विपतद व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, सामाजिक विकास समितिका संयोजक कुमार लामीछाने, आर्थिक समितिका संयोजक माधव वली, लेखा समितिका संयोजक राजु आचार्यले प्रस्तुत गरेको प्रतिवदेन माथि पनि दफावार छलफल भएको थियो ।











