इन्द्रेणी संवाददाता
दाङ, १६ जेठ । भोलि सोमवार हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावको तयारी पूरा भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने उपचुनावको तयारी पूरा भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिएका छन् ।

aaaमाओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा चुनाव हुन लागेको हो । निर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ र जसपाको महन्थ ठाकुर पक्षको समर्थन रहेको छ ।

विपक्षी गठबन्धनले कपिलवस्तुका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी भर्खरै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

wwउपचुनावमा प्रदेश सभातर्फका ८३ सांसद र पालिकाका मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्ष गरी दुई सय १७ मतदाता छन् । तीन वटा मतदान केन्द्र बनाइएको र बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । प्रत्येक मतदान केन्द्रमा दुई जना स्वास्थ्यकर्मीसहित ११ जनाका दरले कर्मचारी खटाइने छ । उपचुनावमा प्रदेश सभा सदस्यको ४८ र पालिकाका अध्यक्ष र उपाध्यक्ष, मेयर र उपमेयरको मतभार १८ गणना हुन्छ ।

यसैबीच सो उपचुनावमा जनता सामाजवादी पार्टीका चार सांसदले मतदान गर्न पाउने भएका छन् । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जसपाका चार सदस्यमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि निर्वाचन आयोगले यसअघि प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा ती सांसदको नाम राखिएको थिएन । निर्वाचन कार्यालय दाङले आज आइतवार त्यो सच्याउँदै मतदान गर्न पाउने सूचना जारी गरेको छ ।

तस्विर : हेलो प्रदेश निर्वाचन दाङको फेसवुक पेजबाट