काठमाडौं, १२ जेठ । सरकारले स्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको छ । पुनर्गठित कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकले स्वास्थ्य आपत्कालसहित कोभिड अध्यादेश कार्यान्वयनका लागि योजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

ccmc‘स्वास्थ्य आपत्कालसहित अध्यादेशमा भएका व्यवस्था कसरी कार्यान्वयन गर्ने भनेर छलफल भयो, त्यसअनुसार अब सिसिएमसी र सम्बन्धित मन्त्रालयले योजना बनाउँछन्,’ स्वास्थ्यमन्त्रीसमेत रहेका निर्देशक समितिका सदस्य हृदयेश त्रिपाठीले बैठकपछि भने । स्वास्थ्य आपत्काल घोषणा गर्न मिल्ने कानुनी प्रबन्धसहित सरकारले गत बिहीबार मात्रै कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको थियो ।

महामारी रोक्न स्वास्थ्य आपत्काल घोषणा गर्नुपर्ने निष्कर्षसहित स्वास्थ्य मन्त्रालयले आपत्कालसम्बन्धी मापदण्डको मस्यौदा अर्थ मन्त्रालय पठाइसकेको छ । अध्यादेशले सिसिएमसी पुनर्गठन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई प्रतिकार्य अधिकारीको अधिकार दिएको छ । प्रमुख जिल्ला अधिकारीहरूले अध्यादेशमा भएको व्यवस्थाअनुसार निषेधाज्ञा उल्लंघन गर्नेसँग जरिवाना असुल गर्न सर्कुलर जारी गरिसकेका छन् ।