madav nepal

माधव नेपाल

 

पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठकबाट तपाईं र झलनाथ खनाललगायत ११ जनालाई पार्टीबाट निष्कासन गर्नुभएको छ, यसलाई कसरी लिनुभएको छ ?

केपी ओलीको यो निर्णय हास्यास्पद हो । उहाँले हामीजस्तो व्यक्तिलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्नुभयो भन्नेभन्दा हास्यास्पद अरू के होला रु जसले राष्ट्रघाती काम गरिरहेको छ, कम्युनिस्टविरोधी काम गरेर आन्दोलनलाई टुक्राटुक्रा पार्न खोजिरहेको छ, क्षतविक्षत् बनाउन खोजेको छ, कम्युनिस्ट आन्दोलनलाई पूरै दक्षिणपन्थी भासमा फसाउन खोजेको छ, विकृति र विसंगतिको थुप्रो लगाएको छ, सरकार चलाउँदा पनि जनताबीच बदनाम भएको छ, जनताको समस्यामा असंवेदनशीलता देखाइरहेको छ, मुलुकमा महामारी चलिरहेका वेला भ्रष्टाचार व्याप्त बनाएको छ त्यस्तो मान्छेले पार्टी, मुलुक र आन्दोलनका लागि काम गर्ने इमानदार नेता–कार्यकर्तालाई कारबाही गर्ने हास्यास्पद मात्रै हो । त्यसको कुनै अर्थ छैन । जसले देशको संविधान र पार्टीको विधानविपरीत केन्द्रीय कमिटीलाई यत्तिकै विघटन गर्न सक्छ त्यस्तो व्यक्तिको कुनै हैसियत छैन र कारबाही गर्नुको कुनै तुक छैन ।

तर तपाईंहरूले निरन्तर पार्टी अनुशासन अवज्ञा गर्नुभयो, पार्टीले एकातिर निर्णय गर्ने, तपाईंहरू अर्कोतिर लाग्ने रु यो हिसाबले तपाईंहरू कारबाहीको भागीदार होइन र ?

उहाँले चाहिँ के अनुशासन पालना गर्नुभयो त रु उहाँले एकता कायम राख्नका लागि के काम गर्नुभयो रु एकता कायम राख्नका लागि वार्ता कमिटी बनाइएको छ, तर निर्णय भने एकलौटी ढंगले जथाभावी गर्नुभएको छ । संसद् भंग गर्नुभएको छ । प्रतिगमनकारी कदम चाल्नुभएको छ । नेपालको गणतन्त्र र संघीयतालाई कमजोर बनाउने काम गर्नुभएको छ । खुलेआम संविधान मिच्नुभएको छ । योचाहिँ के अनुशासनको पालना गरेको हो रु उहाँले न संवैधानिक अनुशासन, न पार्टी विधानको अनुशासन न त अरू कुनै अनुशासनको पालना गर्नुभएको छ । यस्ता व्यक्तिले गर्दा सारा देशले दुःख पाइरहेको छ । उहाँकै कारण कम्युनिस्ट पार्टीभित्रका सम्पूर्ण कार्यकर्ता अत्यन्तै पीडित बनेका छन् । सानो गुट बनाएर पूरै दलाल पुँजीवाद र भ्रष्टाचारको दलदलमा फसेको मान्छेले यस्ता निर्णय गर्नुलाई म अस्वाभाविक ठान्दिनँ । हामीजस्ता इमानदार, निष्ठावान, कम्युनिस्ट आन्दोलनको पक्षमा र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने, जनताले चुनेर पठाएको संस्था प्रतिनिधिसभालाई जोगाउनका लागि लागिपर्ने नेता–कार्यकर्ताविरुद्ध विध्वंसकारी प्रवृत्ति भएका केपी ओलीले यस्तो कदम चाल्नुलाई मैले अनौठो मानेको छैन ।

तपाईंहरूमाथि कारबाही त नै भइसक्यो, अब के गर्नुहुन्छ ?

हामी छलफल गर्छौँ ।

एमाले पार्टी विभाजन गर्नुहुन्छ, नयाँ पार्टी गठन गर्नुहुन्छ वा अरू केही कदम चाल्नुहुन्छ ?

उहाँले हामीलाई धकेलेर बाहिर निकाल्न खोज्नुभएको छ । उहाँले खोजेको भनेकै विदेशीहरूको इसारामा कम्युनिस्ट पार्टीलाई छिन्नभिन्न बनाउने हो, विभाजन गर्ने हो । उहाँ पूरै विदेशीहरूको कठपुतली बन्नुभएको छ । त्यही भएर विदेशीहरूको प्रिय पात्र बन्न खोज्नुभएको छ । विदेशीको प्रिय बन्नका लागि कम्युनिस्ट पार्टीलाई बर्बाद पार्न लाग्नुभएको छ । त्यसो हुनाले क्रान्तिकारी पार्टी निर्माण गर्ने र कम्युनिस्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने हाम्रो सोच छँदै छ । कम्युनिस्ट पार्टीलाई कसरी लोकतान्त्रिक बनाउने, क्रान्तिकारी पनि बनाउने र जनताको प्रिय पार्टी बनाउने भन्ने विषयमा हामी छलफल चलाउँछौँ ।

त्यसो भए अब नयाँ पार्टी गठन गर्नुहुन्छ ?

मैले भनिसकेँ, कम्युनिस्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने हाम्रो सोच छ । कसरी गर्ने भन्ने विषयमा छलफल गर्छौँ ।

नयाँ पत्रिकाबाट