वाग्मती प्रदेशमा राष्ट्रिय सभा उपचुनाव आज
काठमाडौं, ६ जेठ । वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । हेटौँडामा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा एमालेकै डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङ भिड्दैछन् ।
माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव हुन लागेको हो । थापालाई एमालेको केपी शर्मा ओलीको समूहको समर्थन छ भने देवकोटालाई कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल, झलनाथ खनाल समूहको समर्थन रहेको छ ।
उपचुनावमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदान गर्ने छन् ।











