इन्द्रेणी संवाददाता
दाङ, ३ जेठ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना संक्रमित आफ्ना सदस्यहरुका लागि बिना ब्याज कोभिड उपचार ऋण र स्वास्थ्य तथा पौष्टिक खाद्य वस्तुहरु सहयोग गर्ने भएकोे छ ।
सहकारी संस्थाको बैठकले संक्रमित सदस्यहरुको औषधि उपचारका लागि पहिलो चरणमा दुई महिनासम्म ब्याज नलिने गरी बढिमा एक लाख रुपैयाँ “कोभिड उपचार ऋण” उपलव्ध गराउने निर्णय गरेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए ।
सहकारी संस्थाले कोरोना भाइरस पुष्टि भई उपचाररत आफ्ना शेयर सदस्यहरुलाई बढीमा ४ हजार सम्मका स्वास्थ्य तथा पौष्टिकयुक्त खाद्य वस्तुहरु प्रदान गर्ने छ । संक्रमितहरुको सुविधाको लागि मास्क, ह्यान्ड स्यानीटाइजर,फेस सिल्ड,ह्यान्ड वास,इम्युनोबुस्टर,इम्युनोकेयर,अल्मोन्ड,पिस्ता,ओखर,भेज सुप,आयुर्वेदिक तुलसी लगाएतका सामानहरु उपलव्ध गराइने संस्थाका अध्यक्ष शर्माको भनाई छ ।
उनका अनुसार कोभिड उपचार ऋण र पौष्टिक आहार सहयोगका लागि संस्थाले कार्यबिधि बनाएको र सोही कार्यविधिको आधारमा बितरण गरिने छ । जिल्लामा पहिलोपटक सहकारी मार्फत थालिएको यो पहिलो काम हो ।
कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्टको महामारीका कारण संस्थामा आवद्ध शेयर सदस्यहरु समेत सङक्रमित हुने क्रम बढिरहेको सन्दर्भमा त्यस्ता संक्रमित सदस्यहरुका लागि संस्थामा स्थापित सदस्य कल्याण कोषको निश्चित प्रतिशत रकम र संस्थामा आवद्ध अन्य सदस्यहरुबाट स्वेच्छिक रुपमा प्राप्त हुन सक्ने रकमलाई समेत समेटी एक कोषको स्थापना गरी सो कोषको रकमबाट सदस्यहरुलाई स्वास्थ्य तथा पौष्टिक खाद्य सामाग्रीहरु सहयोग स्वरुप उपलव्ध गराउने निर्णय बैठकले गरेको छ । निर्णय अनुसार आफ्ना शेयर सदस्यहरुका लागि उक्त कार्यक्रम आइतवारदेखि नै शुरु गरिएको छ ।
युवाहरुको नेतृत्वमा सञ्चालित कशल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना नियमित कार्यक्रमहरुसगै बिपन्न विद्यार्थीहरुलाई लक्षित गरी सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना, प्रमाणपत्र धितो राखेर ऋण लगानी, युवाहरुलाई लक्षित गरेर स्वरोजगारमा लगानी, बिभिन्न आकर्षक बचत कार्यक्रमहरु, शेयर सदस्यहरुका लागि समस्या परेका बेला राहत मूलक कार्यक्रम, संरक्षित पूजा फिर्ता कोषको रकम बितरण जस्ता नविनतम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको संस्थाले जनाएको छ ।











