रुकुमपूर्व, २६ फागुन । यहाँका विभिन्न ठाउँमा स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । अल्लोबाट उत्पादित विभिन्न सामग्रीले बजार नपाएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको हो । अल्लो प्रशोधन र त्यसबाट बनाइने सामग्रीबारे सीप प्राप्त गरेर अल्लो उद्योग सञ्चालन गरे पनि उत्पादित सामग्री विक्री नहुँदा आम्दानी शून्य भएपछि उद्यमी समस्यामा परेका छन् ।

kkkkयहाँका तीन ओटै स्थानीय तहमै प्रशस्तमात्रामा अल्लोको कच्चा पदार्थ पाइने गरेको छ । उत्पादित सामग्रीले परिश्रमअनुसारको बजार र मूल्य नपाउँदा अल्लो अद्योग सञ्चालनमा समस्या भएको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं १४ जामाबगरस्थित सिर्जनशील अल्लो उद्योग सञ्चालक गौसरी पुनले बताए ।

अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्नेजस्ता प्रक्रियाबाट सामग्री बनाउनुपर्ने अवस्थामा गाउँमा बजार र श्रमअनुसारको आम्दानी नहुँदा रुकुमकोट र सदरमुकाम खलङ्गासम्म पु¥याउँदा झनै लागत बढेको उनले बताए।

अल्लोबाट तयार पारिने सामग्रीबाट पारिश्रमिकसमेत नउठेपछि उत्पादनमा कमीका साथै सञ्चालनमा रहेका उद्योगसमेत सङ्कटमा परिरहेको उद्योग सञ्चालक बताउँछन् ।

भौगोलिक विकटताका बीच ग्रामीण क्षेत्रका सर्वसाधारणले गाउँघरमै सङ्कलन गरेको अल्लोबाट झोला, टोपी, बर्की, कोटलगायत विभिन्न लत्ताकपडा सामग्री निर्माण गरे पनि गाउँमा बजार नभएपछि व्यवसाय धरापमा पर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

जामाबगरस्थित सिर्जनशील अल्लो उद्योग व्यवस्थापनका लागि अल्लोका कपडा तयार गर्ने आधुनिक औजार खरीद र आवश्यक तालीम सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकाको ४ लाख रुपैयाँ र वडाको ५० हजार गरी ४ लाख ५० हजार रुपियाँको बजेट विनियोजन गरिएको वडा नं १४ का वडाध्यक्ष हर्कमान बुढाले जानकारी दिए।

अल्लो उद्योग सञ्चालनबाट स्थानीयवासीलाई व्यावसायिक बनाउन सरकारसँगै विभिन्न सङ्घसंस्थाले तालीम दिंदै आए पनि उचित बजार तथा मूल्य नपाउँदा अल्लोबाट घाटा खानु परेको उद्यमी बताउँछन् । रासस