काठमाठौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लोकप्रियताको मापन वैशाखको चुनावले गर्ने बताएका छन् । उनले ताजा जनादेशमा गएर आफूलाई नागरिकबाट नै दण्डित गराउन चुनौती समेत दिएका छन् ।
आजको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटन गरी चुनावमा जाने निर्णयको विरोध गर्नेहरूलाई चुनावमा गएर नागरिकबाट नै आफूलाई दण्डित गरेर देखाउन चुनौती दिएका हुन् । आफ्नो निर्णयमा चित्त नबुझ्नेहरूलाई ‘नागरिकबीच गएर केपी ओलीलाई दण्ड दिन अपिल गर्न’ पनि आग्रह गरे ।
‘चुनावमा जाने भन्नेबित्तिकै खुट्टा किन कामेको ? चुनाव भन्नेबित्तिकै सातो किन गएको ? नागरिकको बीचमा जाने भन्नेबित्तिकै, ताजा जनादेश लिने भन्नेबित्तिकै ? अरू कुनै प्रभुको चरणमा जाने भनेको त होइन नि ? नागरिकको शरणमा जाने भनेको, उनले भने, नेपाली नागरिकको अभिमत लिने भनेको । केपी ओलीले गल्ती गरेको रहेछ भने नेपाली नागरिकले दण्ड देलान् । नेपाली नागरिकको बीचमा गएर केपी ओलीलाई दण्ड दिन अपिल गर्नुहोस् रु तपाईँहरू जानुहोस् । जो, जसलाई चित्त बुझेको छैन । तपाईँहरूलाई नागरिकले त्यही जवाफ दिएर पठाउनेछन् । ’
प्रधानमन्त्री ओलीले लोकतन्त्र र नागरिकको बलिदानीको रक्षा गर्नका लागि आफूले जिम्मेवारीबोधका साथ प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा गएको बताए ।











