दाङ, १ पुस। दाङको पत्रेखोलाको पुल निर्माणको काम पुनः शुरु भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा पर्ने पत्रेखोला पुलको पुनः डिजाइन स्वीकृत भएर आएपछि निर्माण शुरु भएको हो ।

pulपुलको सुपरस्ट्रक्चर डिजाइन स्वीकृत भएर आएपछि अहिले पुल ढलानको काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर अमिर सुवेदीले बताए ।

यसअघि सोही खोलामा दुईओटा पिलर मात्रै निर्माण गरिएको थियो । विसं २०७३ मा पुलको सुपरस्ट्रक्चर नमिलेको भन्दै पुनः पुलको डिजाइन गर्नुपर्ने भएपछि पुल निमार्णको काम रोकिएको थियो ।

यही पुसमा काम सक्नुपर्ने भए पनि कोरोनाका कारणले काम शुरु हुन नसकेकाले ६ महीनाका लागि पुनः म्याद थप गरिएको छ ।

दुई वर्षभित्र पुल निमार्णको काम सक्ने गरी विसं २०७१ असोज ११ गते निमार्ण कम्पनी शंकरमाली निमार्ण सेवाले ठेक्का सम्झौता पाएको भए पनि पटक–पटक म्याद थप गर्दा पनि पुल निर्माणको काम अघि बढ्न सकेको थिएन ।

अहिले पनि पुनः शंकरमालीले नै निर्माणको जिम्मा पाएको छ । सोही पुल निर्माणका लागि रू। साढे चार करोड बजेट रहेको उनको भनाइ छ । पुल निर्माण नहुँदा यात्रुहरुले निकै सास्ती खेप्नुपरेको छ । बर्खामा बाढी आएमा आवतजावत नै ठप्प हुने गर्छ । रासस