काठमाडौँ, ३० मंसिर बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ । नेपाल र बंगलादेशका सरकार–सरकारबीच (जिटुजी) मार्फत मल खरीदका लागि समझदारी गर्न नेपाली टोली मङ्गलबार जाने भएको हो ।

malसरकारी टोलीको नेतृत्व गर्दै कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीका संयोजकत्वमा चार सदस्यीय टोली बङ्गलादेश जाने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार उक्त टोलीमा मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कम्पनीका खरीद महाशाखा प्रमुख विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी रहेका छन् ।

टोलीले बङ्गलादेश सरकारलाई मल खरिदको प्रस्ताव बुधबार पेश गरेर सम्झौता गर्ने मन्त्रालयले जनाएको छ । यसअघि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर रासायनिक मल खरिद गरिएको भन्दा सस्तोमा मल नेपाल आउने अनुमान गरिएको कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिए ।