काठमाडौं, १७ मंसिर । कार्यसूचीअनुसार काम भइरहेको भए यतिवेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एकदमै व्यस्त हुनुपर्ने हो । आर्थिक वर्षको पहिलो चौमासिकपछि हरेक मन्त्रालयको समीक्षा गरेर चालू कार्यक्रमलाई गति दिने मंसिरमै हो । तर, यस्तो वेला प्रधानमन्त्री कार्यालय भने सुनसानजस्तै छ । प्रधानमन्त्री केपी ओली कार्यालय नै नआउँदा दीर्घकालीन महत्व राख्ने कामहरूसमेत प्रभावित भइरहेका छन् ।
प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालय जान छाडेर बालुवाटारबाटै सरकार चलाउन थालेको करिब आठ महिना भइसकेको छ । गत २२ वैशाखमा असंलग्न राष्ट्रहरूको सम्मेलनलाई उनले कार्यालयको एक्सन रुमबाटै सम्बोधन गरेका थिए । त्यसपछि उनी कार्यालय आएको थाहा नभएको कर्मचारीहरू बताउँछन् ।
प्रधानमन्त्रीले निवासबाटै सरकार चलाउँदा राज्य संयन्त्र नै सुस्त बनेको सिंहदरबारका उच्चपदस्थ कर्मचारीहरू बताउँछन् । सम्पूर्ण मन्त्रालयहरूलाई नियमित रूपमा निगरानी र निर्देशन दिने प्रधानमन्त्री कार्यालय नै सुस्त भएपछि अन्य मन्त्रालयमा समेत त्यसको असर परेको छ । ‘कार्यकारी प्रमुख नै कार्यालय नगएपछि त्यसबाट प्रधानमन्त्री कार्यालय त सुस्त हुने नै भयो, त्यसको असर अरू मन्त्रालय र तल्लो तहसम्म पुगेको छ,’ प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भने ।
मन्त्रिपरिषद्का बैठकदेखि सामान्य प्रशासनिक निर्णयहरू पनि बालुवाटारबाटै हुने गरेका छन् । नियमित रूपमा ब्रिफिङ लिने र निर्देशन दिने प्रधानमन्त्रीको काम नै लामो समयदेखि अवरुद्धजस्तै छ । प्रधानमन्त्रीले समय नदिँदा यो वर्ष मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतासमेत हुन सकेन । सातै प्रदेशका मुख्यमन्त्रीहरू रहेको अन्तरप्रदेश समन्वय परिषद्को बैठकसमेत बस्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न बनाइएको एक्सन रुममा प्रायः ताला झुन्ड्याइएको हुन्छ ।
दुई वर्षअघि प्रधानमन्त्री कार्यालयमा पुगेका प्रहरी ऐनलगायत महत्वपूर्ण ऐनका मस्यौदा अलपत्र परेका छन् । सुशासनसम्बन्धी कतिपय प्रतिवेदनहरू पनि अघि बढ्न नसकेको स्रोत बताउँछ । नियमित रूपमा बैठक बस्ने पद्धति नहुँदा प्रधानमन्त्री कार्यालयकै कतिपय सचिवहरूले महिनौँसम्म प्रधानमन्त्रीलाई भेट्नै नपाएको अवस्था रहेको स्रोत बताउँछ ।
पूर्वमुख्यसचिव डा। विमल कोइरालाले प्रधानमन्त्री कार्यालय नै नजाने प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पर्ने बताए । ‘प्रधानमन्त्री नियमित कार्यालय नजाँदा राज्य सञ्चालनमा ठूलो असर पर्छ । कार्यकारी प्रमुख नै कार्यालय नगएपछि अनुशासनहीनता बढ्छ । प्रधानमन्त्री नै नआएपछि मन्त्रीहरूमा पनि किन हामी जानुप¥यो भन्ने भावना आउँछ,’ उनले भने, ‘राज्य सञ्चालनमा जुन किसिमको संवाद र सञ्चार हुनुपर्ने हो, त्यो हुन सक्दैन । यसले निर्णय प्रक्रियामा सुस्तता आउँछ । समग्रमा यस्तो प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पार्दछ ।’
हुन पनि सुशासन कायम गर्न प्रधानमन्त्रीको सबैभन्दा बलियो संयन्त्र राष्ट्रिय सतर्कता केन्द्र नै अहिले सबैभन्दा कमजोर बनेको छ । केन्द्र दुई महिनादेखि सचिवविहीन छ । विगतमा नियमित अनुगमन गर्ने यो कार्यालयको अहिले कुनै गतिविधि नै छैन । प्रधानमन्त्री ओलीले नै चासो नदिँदा केन्द्र कमजोर बन्दै गएको कर्मचारीहरूको गुनासो छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालय कम जान थालेको बताए । सिंहदरबारमा सामाजिक दूरी कायम गर्न कठिनाइ हुने भएकाले बालुवाटारबाटै काम गर्दै आएको उनको भनाइ छ । ‘जरुरी पर्दा अहिले पनि सिंहदरबार जाने गर्नुभएको छ,’ थापाले भने, ‘सामान्यतया बालुवाटारकै ठूलो हलबाट प्रधानमन्त्रीले काम गर्दै आउनुभएको छ ।’ प्रधानमन्त्री पछिल्लोपटक सिंहदरबार गएको मिति भने बुझेर मात्र आफूले भन्न सक्ने उनको भनाइ छ । नयाँ पत्रिकाबाट











