दाङ, १६ मंसिर । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीको लागि दाङको देउखुरीमा जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको छ । मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा बसेको लुम्बिनी प्रदेश मन्त्री परिषदको बैठकले स्थायी राजधानीको जग्गा प्राप्तिको लागी प्रक्रिया सुरु गरेको हो ।

IMG_20201007_172610राप्ती प्राविधिक शिक्षालय, लालमटीया मा १७ बिगाह १९ कट्ठा जमिन प्रदेश सरकारको उपयोगको लागी केन्द्र सरकारसँग माग गर्ने निर्णय भएको मुख्यमन्त्री पोख्रेलको स्वकीय सचिव सुरेश गौतमले जानकारी दिए ।

राप्ती प्रविधिक शिक्षालयलाई सरस्वती मावि गोवर्डिहामा स्थानान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको छ । मन्त्री परिषदको बैठकले राजधानी समेत सबै कामलाई अगाडि बढाउन आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा विभिन्न मन्त्री र सचिवहरु रहेको निर्देशक समिति गठन गरेको छ ।

यसैगरी शिक्षालयमै पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गर्ने निर्णय समेत बैठकले गरेको छ । केही दिन भित्र प्राधिकरणको कार्यालय राखिनेछ । गएको असोज २० गते प्रदेश सभाको बैठकले प्रदेश नं. ५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी राख्ने निर्णय गरेको थियो । उज्यालोबाट