सल्यान, १५ मंसिर । राप्ती लोकमार्गअन्तर्गत दाङ­-सल्यान­-रुकुमखण्ड जीर्ण बन्दै गएको छ । लोकमार्गमा गरिएको कालोपत्र उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो । तर टालटुल गरिएको उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ । अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उत्रिएर धुलाम्मे भएको छ । यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

rapti_sadak-750 अधिकांश स्थानमा ठेकेदारले गुणस्तरीय काम नगर्दा छोटो समयमै कालोपत्र उप्किएको स्थानीयको भनाइ छ । कालोपत्र उप्किएपछि सडक धुलाम्मे र हिलाम्मे बन्दै गएको छ । स्थानीय लालबहादुर खत्रीले दाङ­सल्यान­रुकुम खण्ड जीर्ण बन्दा स्थानीयलाई सास्ती भएको बताए । उनका अनुसार दाङ–सल्यान खण्डको राम्रीदेखि शीतलपाटी र शीतलपाटीदेखि खौलासम्म सबैभन्दा बढी खाल्डाखुल्डी छन् । ‘सडकको अवस्था नाजुक हुँदा पनि सम्बन्धित निकाय मौन छ,’ उनले भने ‘सडक पूर्णरूपमा कालोपत्र भए तुलसीपुरदेखि सल्यान खलंगा आउन बढीमा डेढ घन्टा लाग्छ, तर जीर्ण सडकका कारण गाडीले चार घन्टाभन्दा बढी समय लगाउने गरेका छन् ।’

यातायात व्यवसायी प्रकाश भण्डारीले राप्ती लोकमार्गको सबै क्षेत्रमा खाल्डाखुल्डी परेकाले गाडी चलाउन कठिनाइ हुने गरेको बताए । ‘जीर्ण सडकका कारण गाडी छिटो बिग्रने र दुर्घटना हुने जोखिम पनि त्यत्तिकै छ,’ उनले भने । सडक मर्मतको नाममा करोडौं रकम विनियोजन गरिए पनि सडकको अवस्था बिगँ्रदै गएको उनको भनाइ छ ।

अस्तव्यस्त राप्ती लोकमार्गका कारण गाडी दुर्घटना पनि बढेको छ । सडक निर्माण भएको लामो समयसम्म पनि सडक चौडा नभएकाले सडक जीर्ण बनको छ । यसले सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ । सडक साँघुरो हुनु, खाल्डाखुल्डी हुनु तथा गाडीलाई घुम्तीमा साँघुरो हुनुका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्दीप विकले बताए ।

राप्ती लोकमार्गमा थुप्रै गाडी दुर्घटना हुने गरेका छन् । २०६३ सालमा सल्यानको भाण्टाखोलामा गाडी दुर्घटना हुँदा ४० भन्दा बढीको मुत्यु भएको थियो । यस्तै २०७५ सालमा राम्रीमा स्कुल बस दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए अभियानमा खबर छ। राप्ती लोकमार्ग अन्तर्गत अमेलियादेखि रुकुमको सल्लेसम्म १६८ दशमलव ५४ किलोमिटर सडक पर्दछ । दाङ क्षेत्रमा सडकको अवस्था सन्तोजनक भएपछि सल्यान खण्ड र रुकुम खण्ड जीर्ण बनेको छ ।

सडक डिभिजन कार्यालय, दाङले राप्ती लोकमार्गको सडक स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ । कार्यालयका प्रमुख निरज शाक्यले ठेक्का व्यवस्थापन र २ प्याकेजमा काम अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।