सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरि सत्ता साझेदारीको प्रस्ताव गरेका छन् ।

पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेर फुटको संघारमा पुगेकै बेला प्रधानमन्त्री ओलीले संसदको दोस्रो ठुलो दल कांग्रेसका सभापति देउवासँग गोप्य भेटवार्ता गरेका हुन् ।

संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

करिब डेढ घण्टासम्म संवैधानिक निकायमा नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएपनि नेताहरुले भेटलाई गोप्य राखेका छन् । आफु निकट केन्द्रीय सदस्यहरुलाई लिएर बालुवाटार पुगेका देउवासँग प्रधानमन्त्री ओलीले बेग्लै छलफलसमेत गरेका थिए ।

भेटमा ओलीका तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायत सहभागी थिए ।

स्रोतका अनुसार भेटका क्रममा प्रधानमन्त्री ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेका छन् ।

कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवाद भएको पुष्टि गरे ।

‘बाहिर हल्ला भएको जस्तो कुरा भएको हैन, आवश्यकता भन्दा बढी महत्व दिइएको हो,’ उनले भने ।

उनले संवाद भएको भएपनि के–के कुरा भएको भन्नेबारे खुलाउन चाहेनन् । यसअघि शुक्रबार साँझ कांग्रेस सभापति देउवासँग नेपालकालागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेटेका थिए ।

लगत्तै प्रधानमन्त्री ओलीसँगको भेटलाई लिएर कांग्रेस नेताहरु नै आशंका व्यक्त गरिरहेका छन् ।

संवैधानिक आयोगमा ठूलो संख्यामा पदहरु रिक्त हुँदा समेत सरकारले लामो समयदेखि नियुक्ति गरेको छैन ।

संवैधानिक नियुक्तिका सम्बन्धमा प्रधानमन्त्री ओली र कांग्रेस नेता देउवाबीच पटक–पटक संवाद हुदै आएको छ ।