काठमाडौं, ३ भदौ । दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आज मध्येरातिबाट काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी परिएको छ ।
कोरोनाको जोखिम बढेको निष्कर्ष निकाल्दै बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । बुधबारदेखि एक हप्तासम्म औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउने गरी १७ बुँदे निर्णय गरिएको छ ।
अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य सबै प्रकारका व्यापारव्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेकका गाडी काठमाण्डौ प्रवेशमा समेत निषेध गरिएको छ ।
राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको तस्वीरसहितको परिचयपत्रका आधारमा बिहान ९ देखि १०ः३० सम्म र बेलुका ३ देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउने छन् ।
सवारी साधन सञ्चालनका लागि पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वरेण्टीन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ । त्यस्ता अत्यावश्यक सवारीबाहेकका सवारी पनि सञ्चालन गर्न पाइने छैन ।











