इन्द्रेणी संवाददाता
बाँके, २० साउन । बाँके जिल्लामा तीन दिनका लागि जारी गरिएको निषेधाज्ञा फेरि थपिएको छ । मंगलवार वसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले विषेधाज्ञाको समय शनिवार राति १२ बजेसम्मका लागि थप गरेको हो ।
आज मंगलवार राति १२ बजे सकिन लागेको निषेधाज्ञाको समय यस क्षेत्रमा कोरोना संक्रमणको जोखिम कम नभएका कारण निषेधाज्ञा शनिवार राति १२ बजेसम्मका लागि कायमै राख्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले निषेधाज्ञाको पूर्ण पालना गरी कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरणका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । केही दिनअघि यहाँस्थित आन्तरिक राजस्व, यातायात व्यवस्था कार्यालयका कर्मचारी र ब्यस्त रहने त्रिभुवनचोकको एक मिठाई पसल सञ्चालकमा कोरोना प्ष्टि भएपछि निषेधाज्ञा जारी गरिएको थियो ।











