काठमाडौं, १६ साउन । राजधानीमा मंगलबार भएको एक विवादास्पद अप्रेसनमा प्रहरीले नै सुन तस्करलाई भगाएको पुष्टि भएको छ । सुन बरामद गरेको देखाएर व्यापारीलाई ठग्ने योजनाअनुसार नै घटना भएको प्रहरीको प्रारम्भीक छानबिनको निष्कर्ष छ ।
मंगलबार बिहान सुन्धारामा बा ६ च ५५१९ नम्बरको स्कोरपियोमा रहेका व्यक्तिले दुई वटा पेस्तोल र सुन रहेको झोला फालेर भागेको प्रहरीको दाबी थियो । तर, झोला फालेको नभई प्रहरीलाई नै दिएको र प्रहरीकै मिलमेतोमा स्कारपियो भागेको छानबिनमा खुलेको छ ।
सुरुमा प्रहरीले १५ किलो सुन बरामद गरेको जनाएको थियो । पछि आधा किलोमात्रै सुन भएको र बाँकी नक्कली सुन रहेको खुलेको थियो । सुन र पेस्तोल रहेको झोला फालेर गाडी सजिलै भाग्नु शंकास्पद देखिएपछि महानगरीय प्रहरी कार्यालयले एसएसपी सुशीलकुमार यादबको नेतृत्वमा घटनाको छानबिन गरिरहेको छ ।
छानबिन संलग्न स्रोतका अनुसार तस्करहरुसँग महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान बहादुरसिंह कठायतको सेटिङ देखिएको छ । उनी सिआरभीका चालक हुन् । तस्कर समूहका कौशल पटेलले प्रहरी जवान कठायतलाई आर्थिक प्रभावमा पारी घटनाको योजना बनाएका थिए । ‘अहिलेसम्मको छानबिनमा गाडीमा रहेको समूह सुन तस्करीमा आबद्ध देखिन्छ,’ छानबिन समितिका एक अधिकारीले भने, ‘उनीहरुले भारतीय समूहबाट १५ किलो सुन बेच्ने भनेर केही पैसा लिएका थिए, तर बरामद गरेको देखाउन योजना अनुसार नै प्रहरीलाई दिएका थिए ।’ प्रहरीले सुन साटेर नक्कली बनाएको भन्नका लागि त्यस्तो योजना बनेको पक्राउ परेका पटेलले बताएका छन् । यद्यपी प्रहरीले अन्य कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।
दरबारमार्ग वृत्तका प्रहरी जवान कठायत र अर्का जवान प्रसन्न श्रेष्ठलाई छानबिन समितिले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । कठायत र सुराकी भनिएका पटेलबीच पुरानो चिनजान भएकाले यस्तो योजना बनाएको पाइएको छ । घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । त्यस्तै, त्यसमा प्रयोग भएको गाडी पनि बिहीबार ललितपुरमा फेला परेको छ । नयाँ पत्रिकाबाट











