केशरमान बुढाथोकी 

मुलुकलाई कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाएका बेला पश्चिम रुकुममा भएको मानव नरसंहारले सिंगो राष्ट्रलाइ नै स्तव्ध बनाएको छ ।

प्रेम गर्ने प्रेमिल जोडीले प्रेममा परेपछि जात, धर्म, धनी, गरीब र उमेरको कुनै पर्वाह गर्दैनन् र त भनिन्छ प्रेम अन्धो हुन्छ । तर यसरी प्रेम गर्ने प्रायः जोडीका लागि तगारो बनिदिन्छ– यही जातभात, धनी गरीब, उचनीच र घरपरिवार ।

संसारमा महिला र पुरुष दुईवटा मात्र जाति छन् भन्दै खोक्रा आदर्श छाट्नेहरु अझै छुवाछूतको संघार कुल्चिएर निस्कन सकेका छैनन् । सदियौंंदेखि जातभात, उचनीच र धनीगरीबको पगरी गुथेर अगाडि बढेको समाजमा जातीय छुवाछूत र उचनीचको उल्मूलन गरेर सभ्य समाज निर्माण गर्ने सफरमा हिडेका आदर्शवादीहरुको भान्सा र पूजामा नै यसले नराम्ररी जरा गाडेर बसेको छ । यही जातीय छुवाछूत र उचनीचको परिणति हो– चौरजहारी नरसंहार ।

जाजरकोटका एक दलित युवाले रुकुम पश्चिमकी एक ठकुरी युवतीसँग प्रेम गरे । निश्चल प्रेमपछिको उत्कर्ष भनेको विवाह नै हो । अनि आफ्नो प्रेमलाई जीवन्तता प्रदान गर्ने बिकराल चुनौती थियो कथित तल्लो जाति भेरी नगरपालिका– ४ रानागाउँ जाजरकोटका नवराज विकसामु । आफ्नो प्रेमलाई दाम्पत्य जीवनमा बाँध्न प्रयत्नरत नवराजको प्रेमिल सपना उर्लदो भेरीको रप्तारमा समाप्त भयो ।

यस्तो थियो क्रुर दानवीय चौरजहारी नरसंहार 

आफू तल्लो जातिको भएको र छोराले कथित माथिल्लो जातिको छोरीलाई प्रेम गरेर विवाह गर्न खोज्नु उसको जीवनलीला समाप्त हुनुमा पछुताउँदै जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँ निवासी मृतक नवराजकी आमा भन्छिन्, ‘कक्षा १२ उत्तीर्ण गरेको छोराले विभिन्न किसिमका खेलहरु खेल्थ्यो ।’ खेलप्रति विशेष चासो राख्ने भएकाले गाउँघरमा आयोजना हुने विभिन्न खेल खेल्नकै लागि मेला–महोत्सवमा हिडिरहन्थ्यो । महोत्सवमा खेल खेल्न केही समय अगाडि रुकुमको चौरजहारी पुगेका नवराजको चौरजहारीकी एक युवतीसँग प्रेम शुरु भयो ।

मेला महोत्सवमा आयोजना हुने खेलकुदमा गएका नवराजको प्रेमयात्रा शुरु भएपछि महोत्सवहरु भेट्ने बहाना बने  । प्रेमिका पनि नवराजको घर आउनेजाने गर्थिन् ।  दलित युवासँग प्रेम सम्बन्ध भएको थाहा पाएपछि यो सम्बन्ध छुटाउन आफन्तले के के गर्न भ्याएनन् ? तर यिनीहरुको प्रेम टुट्नुको सट्टा झनै मजबुत भयो  ।  प्रेमिकालाई लिन केही महिनाअघि नवराज साथीहरू लिएर प्रेमिकाको घर पुगे । यो कुराको सुइँको पाएका आफन्तहरुलाई यो सम्बन्ध असफल बनाउने उपाय बन्यो– उमेर  ।  केटीको उमेर सानो भएकाले बालबिबाह लाग्ने भन्दै उमेर पुगेपछि बिबाह गर्ने बहाना गर्दै प्रहरीको रोहबरमा छलफल टुङ्गो लाग्यो ।

100813456_1102225353484065_6878534267941421056_n

तर, दलितसँग प्रेम गरेको भनेर परिवारले नै किशोरीलाई बारम्बार घोंचपेच गर्न थालेपछि असह्य भएर प्रेमिकाले नवराजलाई आफूलाई भगाउन खबर गरिन् । आफ्नो जीवनभन्दा बढी माया गरेकी प्रेमीकाको ‘लिन आउनू भनेर खबर गरेपछि आफ्ना हितैषीहरुसँग सहयोग मागेर नवराज प्रेमिकाको घरतर्फ लागे । साँझ अबेर प्रेमिकाको गाउँ पुगेका नवराजसहितको टोलीलाई आक्रमण गर्न शुरु भएपछि ज्यान जोगाउन हरप्रयास र मेहनत गरे तर उर्लदो भेरीको रफ्तारमा प्रेमी नवराजको जीवनलीला सँगै अन्तरजातीय प्रेमको पनि दुखद अन्त्य भयो ।

आफ्नी प्रेमिकासँगको पटकपटक नियमित सम्पर्कपछि प्रेमिकालाई दुलही बनाउने सुनौला सपना बोकेर प्रेमिकाको गाउँमा पुगेका नवराज प्रेमिकाकै गाउँमा नरसंहारमा परे । र, कुनै दुखान्त फिल्मको कारुणिक अन्त्य जस्तै देहलीला त्यागे । नवराजसहित उनका हितैषीहरुको यो दुखद अन्त्यले उनको प्रेमकहानी त अन्त्य भयो तर आधुनिकतातर्फ विकास हुँदै गइरहेको नेपाली समाज र जातीय समानतामाथि भने गम्भीर प्रश्न उब्जाएको छ ।

नेपाली समाजबाट जातीय छुवाछूत र उचनीचको अन्त्य हुनै सक्दैन रु तथाकथित समाजले पगरी गुथाएको तल्लो जातिले माथिल्लो जातिसँग प्रेम गर्नु अक्षम्य अपराध हो ? प्रेमीलाई प्रेमिकाले विवाहका लागि अनुरोध गर्नु र प्रेमिकाको अनुरोधमा आफ्नो लामो प्रेमलाई जीवन्तता दिन खोज्नु प्रेमीको एकतर्फी गल्ती हो ? आफ्नो हितैषी मित्रको पवित्र काममा साथ दिन खोज्नु सबै किशोरहरुको गम्भीर गल्ती हो ?

त्यसो हो भने चौरजहारीको ठकुरी समुदायले उत्तर दिनुपर्छ, आफ्नी चेली दलित समुदायको केटासँग प्रेममा छे भन्ने कुरा जान्दाजान्दै छोरीलाई फकाउन किन सकेनन् ? कथित उच्च जातिको उपमा बोक्न जानेका ठकुरी समुदायले आफ्नी छोरीलाई जातीय उचनीचको पाठ पढाउन किन सकेनन् ?  अनि केटाको तर्फबाट एकतर्फी अपहरण शैलीमा जबरजस्ती गर्न घरमै दलबलसहित आएको अबस्था हो भने कानुनी उपचार खोज्नुको साटो कानुन हातमा लिएर ढुंगामुढामा किन उत्रिए ? यस्ता सैयौं प्रश्नहरु उब्जिएका छन् चौरजहारी नरसंहारपछि ।

जातीय विभेद र छुवाछूत नेपाली समाजका लागि कानूनी अपराध भएपनि दूरदराजदेखि लिएर शहरसम्म अझै पनि यसको निर्मूल हुन सकेको छैन ।

98437038_1102225540150713_5252757205010087936_n

नेपाल जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा भएको झण्डै १४ बर्ष पुग्ने थाल्यो । ऐन कानुन मात्र बनेर सदाका लागि त्यसको अन्त्य सम्भव हुँदैन । मानिसको चिन्तनमा परिवर्तन हुन सकेन भने कानुन हातमा लिएर नै मानव अपराध कर्ममा उत्रिन्छ ।

जातीय छुवाछूतको कुप्रथाले पानीपँधेरो, स्कुल, मन्दिर, अस्पताल, सार्वजनिक सवारीसाधन, मेला, समारोह इत्यादि स्थानमा दलित भएकै कारण अपमानित हुनुपरेको विडम्बना नेपाली समाजमा जीवितै छ ।

उचनीच र छुवाछूतको परम्परागत प्रथा जमेर बसेको नेपाली समाजमा जातीय बन्धनले तोडेर सच्चा प्रेम गर्ने नवराज र सुषमा जस्ता हजारौं प्रेमिल जोडीले खेप्नुपरेको समाजको सामाजिक अपहेलना त जीवित नै छ । तर प्रेमको प्रतिफल हत्या नै हुन्छ भन्ने बिषय अकल्पनीय हो । यस्तो विभत्स नरसंहारलाई राजनीतिक रंग दिएर भवितव्य घटना मान्न र दोषीलाई निर्दोषको जलप लगाउन थालियो भने यो २१ औं शताव्दीको मानवजातिकै लागि कालो धव्बा बन्न जानेछ ।

पात्र चाहे जो कुनै किन नहोस्, अपराध कर्ममा उत्रिने ऊ अपराधी हो । कानुनी राजमा कानुनको धज्जी उडाउँदै नरसंहार मच्चाउन कसैका लागि छुट छैन । त्यसैले चौरजहारी नरसंहारलाई जातीय र राजनीतिक लेपन दिएर होइन अपराधकर्म गर्ने जोसुकै अपराधीलाई कडा कानुनी कारवाही गर्नु हजारौं नवराजको आत्माले शान्ति पाउनु हो ।