इन्द्रेणी संवाददाता
काठमाडौँ, ३ जेठ। नेपालमा कोरोना भाइसर (कोभिड–१९) सङ्क्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुत्केरी व्यथा लागेपछि महिला वैैशाख २३ गते काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी थिइन्। वैशाख २४ गते अस्पतालमा सामान्य रुपमा सुत्केरी भएकी थिइन् ।
वैशाख २५ गते डिस्चार्ज भई महिलालाई बाह्रबिसे नगरपालिका ९ राम्चे ठोटनेरीस्थित घरमा लिइएको थियो । पछि महिलालाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि विहीबार साँझ धुलिखेल अस्पतालमा पुर्याइएको थियो ।
यसैबीच पछिल्लो कोरोना परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ । यो संगै सङ्क्रमितको संख्या २८१ पुगेको छ ।











