राजेश जीसी
प्यूठान । कृषि कामका लागि कामदार तथा गोरु पाउन छाडेपछि प्यूठानका कृषक आधुनिक प्रविधितर्फ आकर्षित हुन थालेका छन् । कोरोना भाइरस ९कोभिड–१९० को प्रकोप र लकडाउनका कारण दैनिक ज्यालादारी काम गर्ने मान्छेको कमी भएपछि कृषकले आधुनिक प्रविधिको प्रयोग गर्न थालेका हुन् ।
दिनभर लगायर खेत बारी जोत्नका लागि गोरु पाउन तथा दैनिक काम गर्ने मान्छे नपाउँदा आधुनिक प्रविधि रोजेको प्यूठान नगरपालिका ८ बाग्दुलाका कृषक कुलप्रसाद न्यौपानेले बताए । ‘अहिले खेत बारी जोत्नका लागि कामदार नै छैनन्, लकडाउनका कारण भएका कामदार पनि आउँदैनन्,’ उनले भने, ‘कामदार र गोरु पाउन नसकेपछि आधुनिक औजारतर्फ आकर्षित भएको हुँ ।’
पछिल्लो समय जिल्लाको सहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म खेत बारी जोत्न गोरुको सट्टा आधुनिक औजार ९हाते ट्र्याक्टर, ट्र्याक्टर० प्रयोग हुन थालेको छ । गोरुले जोत्दा भन्दा आधुनिक औजार प्रयोग गर्दा सजिलो र काम छिटो हुने भएकाले धान रोप्ने, गहु काट्ने, गहुँ झाट्ने लगायत मेशिनहरूको प्रयोग हुन थालेको मल्लरानी गाउँपालिका ३ का किसान गुरुप्रसाद पौडेलले बताए । खेतबारी जोत्न आधुनिक प्रविधि आएपछि काममा सहज भएको र श्रम तथा पैसाको लागत घटेको उनको भनाइ छ ।
‘हाते ट्र्याक्टर लिएपछि खेतीपातीमा निकै सजिलो भएको छ,’ कृषक पौडेलले भने, ‘गोरुले जोत्दा बाँझो रहने र आफैले खन्नुपर्ने अवस्था पनि हटेको छ ।’ गोरुले खेतबारी जोत्दा धेरै खर्चिलो र झन्झटिलो हुने कृषक पौडेलको अनुभव छ । आधुनिक कृषि यन्त्रको प्रयोग गरी खेतीपाती गर्दा उत्पादकत्व समेत बढेको उनले सुनाए । पछिल्लो समय गाउँका युवाहरू विदेशिँदा काम गर्ने मानिसको अभाव भएको र यसले हाते ट्र्याक्टरको प्रयोग बढेको उनले बताए ।
केही समययता केन्द्र, प्रदेश सरकार र स्थानीय तहले आधुनिक औजारको प्रयोगमा प्रोत्साहन तथा अनुदानमा औजार दिन थालेपछि यसको प्रयोग बढ्दै गएको हो । प्यूठानमा स्थानीय तह, विभिन्न सघंसस्था र प्रदेश सरकारको ५० र ७५ प्रतिशत अनुदानमा मिनी टिलर, गहुँ, धान थ्रेसर, चापकटर लगायत कृषि औजार वितरण गरेका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गरेर व्यावसायिकीकरण गर्न थालेपछि परम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिक कृषि प्रणालीतर्फ किसानहरू अग्रसर हुन थालेका छन् ।
गतवर्ष जिल्लाका स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा प्रदेश सरकारले ५० र ७५ प्रतिशत अनुदानमा प्यूठानका १९७ कृषि समूहलाई कृषि औजार वितरण गरेका थिए । यस वर्ष पनि केही वितरण गरेको र बाँकीलाइ वितरण गर्ने तयारी रहेको स्थानीय तहले जानकारी दिएका छन् । उत्पादन बढाउन तथा कृषिलाई व्यावसायिकीकरण गर्न परम्परागत तरीकाले खेतीपाती गरेर नहुने प्यूठानका स्थानीय तहले बताएका छन् ।
कृषिमा आधुनिक औजारको प्रयोगले उत्पादनमा वृद्धि हुने तथा उत्पादन लागतमा कमी आउने नौबहिनी गाउँपालिकाका कृषि शाखाका प्रमुख सन्तोष विकले बताए । ‘कृषिमा आधुनिकीकरणका लागि आधुनिक उपकरण आवश्यक पर्छ,’ उनले भने, ‘यस्ता सामग्रीको प्रयोगले श्रम र पैसाको लागत घटाउँछ भने उत्पादन बढाउन सघाउ पुग्छ ।’ कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै जान थालेपछि कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । अभियान दैनिकबाट











