शालिकराम मुसाफिर
लहलौरा, ८ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई मध्येनजर गर्दै सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गर्दै तुलसीपुर उपमहानगरपालिका १६ नं. वडा समितिको कार्यालयले वडा स्तरको सामुदायिक होम कोरेन्टाइन स्थापना गरेको छ ।
आइतवार बसेको सर्वदलीय बैठकको निर्णय अनुसार वडामा रहेको श्री लक्ष्मी आधारभूत विद्यालयमा हाल २० जना व्यक्ति बस्न सक्ने गरी उक्त वडा स्तरको सामुदायिक होम कोरेन्टाइन स्थापना गरिएको वडा स्तरको सामुदायिक होम कोरेन्टाइन ब्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र के.सी.ले जानकारी दिए ।
हाल सो वडा स्तरको सामुदायिक होम कोरेन्टाइमा १० जना जिल्ला बाहिरबाट आएका नागरिक उक्त स्थानमा वसेका छन् । यहाँ बस्ने सबै व्यक्तिहरुलाई वडा कार्यालय तथा स्वास्थ्य महाशाखा तुलसीपुरले आवश्यक व्यवस्थापन गर्ने वडा अध्यक्ष भूपबहादुर केसीले बताए । बैठकले व्यवस्थापनको लागि वडा अध्यक्ष भूपबहादुर केसीको संयोजकत्वमा १५ सदस्सीय मूल समिति समेत गठन गरेकोे छ ।











