दाङ, ६ चैत । दाङको मर्पेसलाई अदुवाको पेकट क्षेत्रको रूपमा विकास गरिने भएको छ । प्रदेश ५ सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत यो ठाउँलाई अदुवा र घुइयाँको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको हो ।

aduwa1जिल्लाको बंगलाचुली गाउँपालिका–२ मा पर्ने मर्पेस अदुवा, घुइयाँ, बेसारलगायत व्यावसायिक खेतीका लागि उपयुक्त मानिन्छ । सोही अनुसार प्रदेश सरकारले यी कृषि वस्तुको उत्पादन बढाउन पकेट क्षेत्र छनोट गरेको गाउँपालिकाकी उपाध्यक्ष यमुना थापाले बताइन् । ‘जिल्लाको पहाडी क्षेत्र पनि भएकाले मर्पेसमा अदुवा, घुइयाँ, बेसार लगायत कृषि उपज उत्पादनको राम्रो सम्भावना छ,’ उनले भनिन्, ‘यसलाई उक्त वस्तुको पकेट क्षेत्रको रूपमा विकास गर्न प्रदेश सरकारले बजेट पनि विनियोजन गरिसकेको छ ।’

मर्पेसमा अदुवा, घुइयाँ र बेसारको व्यावसायिक खेती, तालीम र बीउ वितरणका लागि प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत  ६ लाख ५० हजार लगानी गर्न लागेको उनले जानकारी दिइन् छ । उक्त बजेटले यी कृषि वस्तुको उत्पादन बढाउने कार्यक्रम सञ्चालन गरी मर्पेसलाई कृषिमा आत्मनिर्भर बनाइनेछ ।

सामाजिक र आर्थिक सूचकका आधारमा पछाडि पारिएका व्यक्ति र समुदायको जीवनस्तर माथि उठनाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन भएको कार्यक्रमका सहजकर्ता टीकाबहादुर बस्नेतले बताए । यो कार्यक्रम प्रदेश ५ का ७३ ओटा गाउँपालिकामा सञ्चालन गरिएको र प्रतिगाउँपालिका रू। ५२ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।